चालु आर्थिक वर्ष २०८१/८२ मा हेटौंडामा स्वाइन फिभर भाइरसका कारण १ सय वटा बङ्गुरको मृत्यु भएको छ। पशु सेवा कार्यालय हेटौंडाका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा ९०, वडा नं. १७ मा ७ र वडा नं. ११ मा ३ वटा बङ्गुरको मृत्यु भएको हो।
बिहीबार आयोजित रोगसम्बन्धी जनचेतना तथा अन्तर्क्रिया कार्यक्रममा कार्यालयका पशु चिकित्सक डा. विजय पौडेलले स्वाइन फिभरको कुनै ठोस उपचार नभएको बताए। उनका अनुसार यो रोग लाग्दा बङ्गुरको शरीरमा रगतको धब्बा देखिने, १०५ डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आउने, रगतमासी देखिने, श्वास फेर्न गाह्रो हुने, खाना नखाने र गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन्।
रोग नियन्त्रणका लागि पशु ढुवानीमा रोक लगाउनुका साथै खोर सरसफाइ र फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने चिकित्सक पौडेलले बताए। साथै मृत बङ्गुरलाई सुरक्षित तरिकाले गाड्न र पशु हेरचाहमा विशेष सुरक्षा सामग्रीको प्रयोग गर्न उनले आग्रह गरे।
नेपालमा यो रोग पहिलोपटक सन् २०२२ मा काठमाडौंको कागेश्वरी मनहरामा देखिएको थियो। हाल देशभर १ लाख ५८ हजार ८ सय बङ्गुर रहेको तथ्यांक छ। पशु सेवा कार्यालय हेटौंडाले रोगका कारण बङ्गुरको मृत्यु भएमा राहतस्वरूप अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरेको छ।
कार्यक्रममा सहभागी २० जना बङ्गुरपालक किसानलाई कार्य सुरक्षाका लागि फिनेल, चुना, मास्क, एप्रोन र पञ्जा वितरण गरिएको छ।