राष्ट्रिय युवा कविता प्रतियोगितामा कास्कीका संयोग बस्यालको कविताले पहिलो स्थान हासिल गरेको छ। ‘सावधान’ शीर्षकको उनको कवितालाई प्रथम पुरस्कार स्वरूप ४० हजार रुपैयाँ प्रदान गरिएको छ।
बागमती प्रदेश सरकारको युवा परिषद् र साहित्य संगम मकवानपुरको आयोजनामा भएको यस प्रतियोगितामा २२३ कविता प्राप्त भएका थिए। तीमध्ये छनोट भएका २० कविताको शनिबार (आज) वाचन गराइएको थियो।
त्यस्तै द्वितीय स्थान हासिल गर्ने कास्कीका सुदर्शन पौडेललाई ३० हजार, तृतीय हुने उदयपुरकी सुमि पोखरेललाई २० हजार र सान्त्वना पुरस्कार पाउने बझाङका महेश कठायतलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले गरेका थिए भने प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री मीनप्रसाद महर्जन थिए। मन्त्री महर्जनले देशमै युवाहरूका लागि अनुकूल वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा कवि मोमिला जोशीले विभिन्न विषयका कविताहरूको एकल वाचन गरेकी थिइन्। साथै पुस्तक प्रदर्शनी पनि राखिएको थियो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ गैरे लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।