हेटौंडामा महिला उद्यमी र सञ्चारकर्मीबीच भएको अन्तरक्रियामा उद्यमीहरूले बजारीकरण र व्यवस्थापनमा समस्या रहेको गुनासो गरेका छन्।
ग्रिन फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी महिला उद्यमीहरूले आफूले उत्पादन गरेका सामग्रीको निश्चित बजार नभएको बताए।
श्रमजीवी महिला काष्ठकला समूहकी अध्यक्ष विष्णुकुमारी राईले स्थानीय तहले स्थानीय उत्पादन प्रयोगका लागि नीति बनाउनुपर्ने बताइन्। त्यस्तै, बनकरिया साबुन उद्योगकी अध्यक्ष सन्तोषी बनकरियाले लेबलिङ र प्याकेजिङको अभावमा अर्गानिक साबुनको बजारीकरण गर्न नसकिएको जानकारी दिइन्।
कार्यक्रममा बुङदल आयआर्जन कृषि समूह र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमी समूहका प्रतिनिधिहरूले पनि आफ्ना अनुभव साटासाट गरे। यस अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा विजयी भएका प्रदेश र जिल्ला समितिका पदाधिकारीहरूलाई सम्मान गरियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं र जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए। सम्मानित पत्रकारहरूलाई बनकरिया समुदायले बनाएको गिठ्ठाको माला र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमीले बनाएको गुन्द्रुकको अचार मायाको चिनोका रूपमा प्रदान गरियो।
ग्रीन फाउन्डेसन मकवानपुरकी सचिव शान्ती कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका केन्द्रीय प्रतिनिधि आरती पाठकले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।