मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं वार्षिकोत्सवको अवसरमा हेटौंडामा तीन दिने सहकारी उत्पादन प्रदर्शनी तथा बिक्री मेला हुने भएको छ । पुस १६ देखि १८ गतेसम्म हेटौंडा-२ स्थित संघको नवनिर्मित भवनमा आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठका अनुसार मेलामा कृषि, बहुउद्देश्यीय र अन्य सहकारीहरूले उत्पादन गरेका हस्तकला, खाद्य पदार्थ, मसला र डेरी उत्पादनहरू प्रदर्शनीमा राखिनेछन् । मेलामा ४० वटा स्टल रहने र करिब १० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलाको अवधिमा विभिन्न प्रतियोगिताहरू पनि आयोजना गरिने छन्। जसमा सहकारी हाजिरीजवाफ प्रतियोगिता, कलेज स्तरीय निबन्ध प्रतियोगिता र सहकारी सचिवहरूबीच वक्तृत्वकला प्रतियोगिता हुने श्रेष्ठले बताइन्।
यसै अवसरमा संघको नवनिर्मित भवनको पनि उद्घाटन गरिने छ । भवनको उद्घाटन भने बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने श्रेष्ठले बताइन्। करिब ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको यो भवन २९ सय स्क्वायर फिटको छ । भवन निर्माणका लागि प्रदेश सरकार, स्थानीय पालिकाहरू र सदस्य सहकारीहरूबाट समेत आर्थिक सहयोग प्राप्त भएको अध्यक्ष श्रेष्ठले ।