नेकपा एमाले बागमती प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यहरूका लागि सुशासन र संस्थागत विश्लेषण सम्बन्धी विशेष तालिम कार्यक्रम सुरु गरेको छ। मंगलबारदेखि शुक्रबारसम्म सञ्चालन हुने यो तालिम हेटौंडास्थित प्रदेशसभा सचिवालयमा आयोजना गरिएको छ।
एमाले उपाध्यक्ष गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सुरु भएको तालिममा बेलायतमा परराष्ट्र मामिला तथा सुशासनका विज्ञ चन्द्रकान्त अधिकारीले सहजीकरण गर्दैछन्। तालिमको उद्देश्य भ्रष्टाचार नियन्त्रण, आर्थिक पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने रहेको छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले पछिल्लो समय राजनीतिक दलको मुद्दा परिवर्तन भएको बताए। उनका अनुसार विगतमा व्यवस्था परिवर्तन र संविधान निर्माणमा केन्द्रित दलहरू अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने दिशामा अग्रसर भएका छन्। साथै विकास, समृद्धि र सुशासन आगामी यात्राको प्राथमिकता हुनुपर्ने उनले बताए।
बरालले नेपालको सुशासन स्थितिबारे चिन्ता व्यक्त गरे। विश्व बैंक, वर्टेलस्मन फाउन्डेसन, ग्लोबल इन्साइड लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालको सुशासन स्थितिको लगातार मूल्यांकन गरिरहेको उनले बताए। भ्रष्टाचार अनुभूति सूचकांकमा नेपालले ३१ देखि ३५ अंकमात्र प्राप्त गरेको तथ्य उनले सार्वजनिक गरे।
उनका अनुसार सरकारी कामकाज, नागरिक अनुभव, सार्वजनिक सेवा, न्यायिक क्षेत्र, व्यापार-उद्योग, भ्रष्टाचार नियन्त्रण नीति र सार्वजनिक पदाधिकारीको आचरण लगायतका आधारमा सुशासनको मूल्यांकन हुने गरेको छ। नेपालमा सेवा प्रवाहमा दुई-तिहाइ सुधारको खाँचो रहेको र एक-तिहाइ मात्र सन्तोषजनक रहेको उनले बताए।







