बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटिइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बैठकले संघीय सरकारबाट आएका तीन सचिवलाई रिक्त मन्त्रालयमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड र प्रदेश प्रमुख कार्यालय सबलीकरण कार्यक्रमका लागि १० लाख रुपैयाँ निकासा गर्ने निर्णय भएको छ।
बैठकले प्रदेश औद्योगिक ऐन २०७६ र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ को संशोधन विधेयक अनुमोदन गरेको छ। यसैगरी तालिम सञ्चालन र प्रविधि हस्तान्तरण कार्यक्रम कार्यविधि २०८१ लाई समितिमा पठाउने निर्णय गरिएको छ।
बैठकले अपाङ्ग भएका व्यक्तिहरूको सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गरेको छ। साथै स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धी मापदण्ड २०८१ पनि स्वीकृत गरिएको छ।