हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा स्थापित बिजनेस इन्क्युबेसन सेन्टरको शुक्रबार उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गर्दै व्यावसायिक शिक्षा आजको आवश्यकता भएको बताए।
मुख्यमन्त्री लामाले परम्परागत शैलीको शिक्षाले मात्र अर्थ नराख्ने भन्दै शिक्षालाई समयानुकूल व्यावसायिक र रोजगारमूलक बनाउनुपर्ने बताए। उनले व्यावसायिक जनशक्ति उत्पादनमा प्रदेश सरकार लगानी गर्न तयार रहेको जनाए।
कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष डोरमणि पौडेलले नेपालमा केही गर्न सकिन्न भन्ने सोच बदल्नुपर्ने बताए। क्याम्पस प्रमुख एम. सिलवालले विद्यार्थीमा सीप र रोजगारीको सृजना गर्ने उद्देश्यले सेन्टर स्थापना गरिएको जानकारी दिए।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अशोक शाक्य लगायत शिक्षक, विद्यार्थी र कर्मचारीहरूको उपस्थिति थियो।