मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी प्रमोदसिंह रानाभाटले आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरेका छन्। १५ वर्षभन्दा बढीको व्यवसायिक अनुभव बोकेका रानाभाटले संघलाई आधुनिक र प्रभावकारी बनाउने महत्वाकांक्षी योजना अघि सारेका छन्। प्रस्तुत छ उनीसँगको विशेष अन्तर्वार्ता।
प्रश्न: संघको नेतृत्वको यो महत्त्वपूर्ण दौडमा तपाईंको उम्मेदवारीको प्रमुख उद्देश्य के हो?
“मकवानपुर उद्योग वाणिज्य संघलाई एकीकृत र बलियो संस्थाको रूपमा स्थापित गर्नु मेरो प्रमुख उद्देश्य हो। म संघलाई पारदर्शी र उत्तरदायी बनाउँदै डिजिटलाइजेसन र समावेशी नीतिमार्फत प्रभावकारी बनाउन चाहन्छु।”
प्रश्न: तपाईंको नेतृत्वमा संघलाई कसरी डिजिटल प्रणालीमा लैजाने योजना छ?
“हामी सम्पूर्ण सेवा प्रणालीलाई अनलाइनमा उपलब्ध गराउनेछौं। सदस्यता नवीकरणदेखि समस्या समाधानसम्म सबै प्रक्रिया डिजिटल हुनेछन्। साथै, एक आधिकारिक मोबाइल एप्लिकेशन विकास गरी सूचना र अवसरहरू तुरुन्तै सदस्यहरूसम्म पुर्याउने योजना छ।”
प्रश्न: ग्रामीण क्षेत्रका व्यवसायीहरूका लागि के विशेष योजना छ?
“हामी ‘मोबाइल सहजीकरण टोली’ खडा गर्नेछौं। यी टोलीले ग्रामीण व्यवसायीहरूको समस्या सुन्ने, दर्ता गर्ने र समाधान खोज्ने काम गर्नेछन्। यसले डिजिटल विभाजनलाई कम गर्दै ग्रामीण व्यवसायीहरूलाई सशक्त बनाउनेछ।”
प्रश्न:: मकवानपुरका व्यवसायीहरूले भोगिरहेका प्रमुख चुनौतीहरू र तिनको समाधानबारे के सोच्नुभएको छ?
“हाल दुई प्रमुख चुनौती छन् – कर प्रणालीको अनियमितता र उच्च बैंक ब्याजदर। यसका लागि हामी ‘सल्लाहकार मञ्च’ स्थापना गर्नेछौं जसले कानुनी सहायता प्रदान गर्नेछ। साथै, सहुलियतपूर्ण कर्जा र ऋण पुनर्संरचनाका लागि सरकार र बैंकहरूसँग समन्वय गर्नेछौं।”
प्रश्न: महिला व्यवसायीहरूका लागि के विशेष कार्यक्रम ल्याउनुहुन्छ?
“‘महिला उद्यमशीलता कोष’ स्थापना गरी महिला व्यवसायीहरूलाई वित्तीय सहयोग, तालिम र बजार पहुँच प्रदान गर्नेछौं। साथै, ‘महिला समन्वय समिति’ मार्फत उनीहरूका समस्या सम्बोधन गर्नेछौं।”