बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगी व्यवसायीको लगानी सुरक्षित गर्न र आवश्यक सुविधा प्रदान गर्न राज्य प्रतिबद्ध रहेको बताउनुभएको छ।
हेटौंडामा आयोजित मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उद्योग क्षेत्र रोजगारी सिर्जनाको प्रमुख माध्यम भएकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले उद्योग सञ्चालनसम्बन्धी कानूनी प्रक्रिया झन्झटिलो रहेको स्वीकार गर्दै यसमा सुधार गर्न सरकार तयार रहेको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाले हेटौंडा औद्योगिक क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले मयुरधाप औद्योगिक क्षेत्र घोषणा भए पनि मध्यवर्ती क्षेत्रभित्र पर्न गएका कारण वनपैदावारको समस्याले उद्योग सञ्चालन हुन नसकेको बताउनुभयो।
संघीय सभाका भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पछिल्लो समय धेरै उद्योगहरू बन्द भएको र उद्योगमैत्री कानूनको अभावमा समस्या बढेको बताउनुभयो।
संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका उद्योग मन्त्री सुकमाया तामाङ, सांसदहरू राजन केसी, विन्दवासिनी कंसाकार लगायतको उपस्थिति थियो। कार्यक्रममा विभिन्न विधाका उद्योगी, व्यवसायी, कर्मचारी र सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो।