मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा १,८१६ मतदाताले मतदान गरेका छन्।
कुल २,०९२ मतदाता रहेको यस निर्वाचनमा वाणिज्यतर्फ १,१५४, उद्योगतर्फ ५५५, एशोसियटतर्फ ८१ र वस्तुगततर्फ २६ मत खसेको निर्वाचन अधिकृत ईश्वरराज ढकालले जानकारी दिए।
संघको ५८ औं वार्षिक साधारणसभा अन्तर्गत शनिबार भएको निर्वाचनमा विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान भएको थियो। मत गणना राति ८ बजेदेखि सुरु हुने जनाइएको छ।
अध्यक्ष पदका लागि प्रमोदसिं रानाभाट र अनिल अग्रवाल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। त्यसैगरी महासचिवमा विकेशलाल श्रेष्ठ र प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य र तेजराज अधिकारी तथा सहकोषाध्यक्षमा निलम वैद्य र राधिका सामरी पाण्डेबीच प्रतिस्पर्धा भएको छ।
वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी र रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई र दिवस पराजुली प्रतिस्पर्धामा छन्। यसैगरी सदस्य पदका लागि राजेन्द्र लामिछाने, रविन ढकाल, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, राजदेव बनियाँ, यज्ञबहादुर राय र होमनाथ खनालबीच प्रतिस्पर्धा रहेको छ।
यसअघि नै २ सचिव र ५ सदस्यसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।