हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा प्रमोद सिंह रानाभाट अध्यक्षमा निर्वाचित भएका छन्। उनले १,०१४ मत प्राप्त गरी प्रतिस्पर्धी अनिल अग्रवाललाई २४९ मतले पराजित गरे।
प्रमुख पदाधिकारीमा रानाभाट नेतृत्वको प्यानलले बहुमत हासिल गरेको छ। महासचिवमा प्रतिमा श्रेष्ठले १,०१२ मत प्राप्त गरी विजय हासिल गरिन्। कोषाध्यक्षमा तेजराज अधिकारी ९१७ मतसहित विजयी भए। सह-कोषाध्यक्षमा निलम वैद्य ९१६ मतका साथ निर्वाचित भइन्।
उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती २७२ मतसहित विजयी भए। सदस्यहरूमा कृष्ण गोपाल महर्जन, जगदिश दहाल र भुपेन्द्र प्रसाद अधिकारी निर्वाचित भए। महिला सदस्यमा सीता देवी भेटवाल विजयी भइन्।
वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी ५९९ मतसहित चयन भए। सचिवमा कुलप्रसाद चौलागाईं ६८४ मतका साथ विजयी भए। सदस्यहरूमा बालकृष्ण बजगाईं, सन्तोष घिमिरे, विष्णुप्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित भए।
नवनिर्वाचित अध्यक्ष रानाभाट २०६८ देखि संघमा सक्रिय छन्। अटो इन्जिनियरिङ, यातायात र स्वास्थ्य क्षेत्रका व्यवसायी रानाभाटले यसअघि संघमा कोषाध्यक्ष, महासचिव र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। विजयपछि उनले यो जितलाई सम्पूर्ण व्यवसायीको विश्वासको रूपमा लिएको बताए।