हेटौँडा/ हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा साँस्कृतिक तथा शैक्षिक प्रदर्शनी सुरु भएको छ। आइतबारदेखि सुरु भएको कार्यक्रम माघ ४ गतेसम्म चल्ने छ।
विद्यालयका प्रिन्सिपल विनोद सुवेदीका अनुसार अर्धवार्षिक परीक्षापछि विद्यार्थीलाई पुनर्ताजगी दिन र उनीहरूको प्रतिभा प्रस्फुटन गराउन यो कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रमको पहिलो दिन नर्सरी, एलकेजी र युकेजी तहका विद्यार्थीले उद्घोषण, नृत्य, गायन र नाटक प्रस्तुत गरे। सोमबार कक्षा १ देखि ३ सम्म, बुधबार कक्षा ४ र ५, बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको प्रस्तुति हुनेछ। शुक्रबार शैक्षिक प्रदर्शनी राखिने कार्यक्रम छ।
यसैबीच, अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई कक्षागत रूपमा पुरस्कृत गरिएको छ। विद्यालयले विद्यार्थीको आत्मबल बढाउन र सिकाइ क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्ने प्रिन्सिपल सुवेदीले बताए।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता र वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको थियो। कार्यक्रममा वडा सदस्यहरू सुरज बर्तौला र इन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति थियो।