हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिका-४ मुसेधापस्थित वनकरिया वस्तीमा आयोजित अन्तरसंवाद कार्यक्रममा स्थानीय वनकरिया समुदायले आफ्ना वर्षौंदेखिका समस्याहरू सांसदहरू समक्ष राखेका छन्।
मकवानपुरगढी सञ्चार प्रा.लि., नर्वेजियन दूतावास काठमाण्डौं र युएनडीपीको संयुक्त आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कुमारी मुक्तान लगायत प्रदेशसभाका सदस्यहरू समिता खड्की, सुना परियार र गिरबहादुर तामाङको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले भूमिपूजक जाति भएर पनि लालपुर्जा नपाएको गुनासो गर्दै २०६२ सालमा २० वर्षका लागि दिइएको कागजको म्याद २०८२ वैशाखमा सकिने चिन्ता व्यक्त गरिन्। उनले साबुन उत्पादनको सीप सिकेर पनि लालपुर्जाको अभावमा व्यवसाय दर्ता गर्न नसकेको दुखेसो पोखिन्।
स्थानीय संगीता वनकरियाले समुदायलाई भत्ता होइन, रोजगारी चाहिएको बताइन्। उनका अनुसार सरकारले दिने मासिक ४ हजार रुपैयाँ भत्ता तीन-तीन महिनामा आउने र त्यसबीचमा उपचार, खाना र बालबच्चाको पढाइमा लाखौं खर्च हुने गरेको छ।
राम वनकरियाले बाटोघाटोको समस्या औंल्याउँदै वर्षायाममा विद्यार्थीहरूलाई स्कुल पुग्न कठिन हुने गरेको बताए। विष्णु बहादुर प्रजाले २०७४ सालको बाढीपछि यस बस्तीमा सरेको र विद्यालय टाढा हुँदा बालबालिकाको पढाइ प्रभावित भएको जानकारी दिए। उनले निकुञ्जका कारण बस्तीमा सेनाले दिने दुःख पनि सुनाए।
कुमार वनकरियाले एसएलसी पास गरेका आफ्ना भाइबहिनीहरू ट्र्याक्टरमा लोड-अनलोड गर्ने र कुचो लगाउने काम गर्न बाध्य भएको बताए। सरकारले एसएलसी पास गरेका वनकरिया युवालाई रोजगारी दिने आश्वासन पूरा नगरेको उनको गुनासो थियो।
कार्यक्रममा उपस्थित सांसदहरूले वनकरिया समुदायको न्यायका लागि प्रदेशसभा र समितिमा आवाज उठाउने प्रतिबद्धता जनाए। युएनडीपीका उपनिर्देशक डा. फ्रान्सिन पिकअपले पनि समुदायका समस्या बुझेर समाधानमा सहयोग गर्ने बताइन्। पत्रकार गोविन्द खड्काको सहजीकरणमा सम्पन्न कार्यक्रममा स्थानीय पत्रकारहरू लगाएको उपस्थिति रहेको थियो।

कार्यक्रम समापनपछि सामूहिक तस्बिर खिचाउँदै