हेटौंडा/’बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई माघ ५ गते बालमैत्री वडा घोषणा गरिने भएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष सुशील घिमिरेले वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागिएको जानकारी दिए। बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा शतप्रतिशत र बाँकी ४ वटामा न्यूनतम प्रतिशत नतिजा हासिल भएको उनले बताए।
वडाको २०७९ को घरधुरी तथ्यांक अनुसार १८ वर्षमुनिका ३ हजार ७ सय ९८ बालबालिका छन्, जसमा २ हजार १६ बालक र १ हजार ७ सय ८२ बालिका रहेका छन्। वडामा सामुदायिक, संस्थागत र बाल विकास केन्द्र गरी ९ वटा विद्यालय सञ्चालनमा छन्।
समुदाय स्तरमा २४ वटा बाल समूह र एक वडा बाल सञ्जाल रहेको छ, जसमा ६ सय बालबालिका आबद्ध छन्। यस अभियान अन्तर्गत विभिन्न बालश्रमिकको उद्धार गरी पारिवारिक पुनर्मिलन गराइएको र दुई वटा बाल विवाह रोकिएको छ।
वडामा बाल अधिकार समिति, बाल समूह सञ्जाल, टोल विकास संस्था, युवा क्लब, आमा समूह र वन समूह लगायत विभिन्न सामुदायिक संस्थाहरू क्रियाशील छन्। यसअघि यस वडालाई पूर्ण खोप वडा, पूर्ण साक्षर वडा र खुला दिसामुक्त वडा घोषणा गरिसकिएको छ।