हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नं. ४ ले दोस्रो वडा खेलकुद महोत्सव आयोजना गर्ने भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ माघ ९ गतेदेखि फागुन १७ गतेसम्म सञ्चालन हुने महोत्सवबारे आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार एक महिना चल्ने यस महोत्सवमा २६ विधाका खेलकुद गतिविधि सञ्चालन हुनेछन् । हुप्रचौर र वडाभित्रका विभिन्न विद्यालयका खेल मैदानमा प्रतियोगिताहरू आयोजना गरिने छन् ।
महोत्सव अन्तर्गत माघ ९ मा नवोदय माविमा हाजिरी जवाफ, माघ १३ मा आधुनिक माविमा वक्तृत्वकला, माघ १४ मा सत्यम जेभियर्स माविमा वादविवाद, माघ १५ मा श्रमिक माविमा नेपाली हिज्जे र स्लो स्कुटी प्रतियोगिता हुनेछन् । यस्तै माघ २४ मा ब्रह्मदिक माविमा कविता र माघ २५ मा भुटनदेवी माविमा निबन्ध लेखन प्रतियोगिता हुने कार्यक्रम छ ।
फागुन २ मा विभिन्न दौड प्रतियोगिता हुनेछन् भने फागुन ३ मा आधुनिक माविमा नगरस्तरीय भलिबल, श्रमिक माविमा फुटबल र क्रिकेट प्रतियोगिता आयोजना हुनेछन् । फागुन ५ मा सत्यम स्कुलमा अफ वार र नवोदय स्कुलमा बास्केटबल तथा फागुन १६ र १७ मा नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
वडा अध्यक्ष सिग्देलका अनुसार विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न, विद्यालयबीच खेलकुद प्रतिस्पर्धा गराउन र शिक्षामा खेलकुद जोड्न प्रतियोगिता आयोजना गरिएको हो । सबै प्रतियोगिताका विजेतालाई फागुन ७ गते प्रमाणपत्र, शिल्ड र मेडल प्रदान गरिने छ । गत वर्ष पनि वडाले वडास्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।