हेटौंडा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘शुभयात्रा अभियान’ सुरु गरेको छ । जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो अभियान थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव अधिकारीका अनुसार अभियान अन्तर्गत ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई शुभकामना दिनुका साथै सुरक्षित यात्राका लागि सचेत गराउँछन् । “शुभयात्रा मात्र नभनी नमस्कार, आरामै चलाउनुहोस्, पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेकाले तपाईंहरूको विवरण राख्दै सुरक्षित यात्राको कामना गर्छौं” भन्दै ट्राफिक प्रहरीले चालकलाई सचेत गराउने गरेका छन् ।
साथै हेलमेट लगाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जीवनको महत्व बुझ्न पनि प्रहरीले चालकलाई सम्झाउने गरेको अधिकारीले बताए । जिल्लामा हुने सवारी दुर्घटनामा मोटरसाइकलको संलग्नता धेरै देखिएपछि यो अभियान सुरु गरिएको उनले जानकारी दिए ।