हेटौँडा/काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर खण्डमा निर्माणाधीन महादेवटार सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘ब्रेक थ्रु’ गर्नुभएको छ। निजगढबाट काठमाडौं जानेतर्फको ३.४४५ किलोमिटर लामो सुरुङमा विस्फोट गराएर राष्ट्रपति पौडेलले ब्रेक थ्रु गर्नुभएको हो।
सुरुङ ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रिय सुरक्षाको जिम्मेवारी निर्वाहसँगै नेपाली सेनाले विकास निर्माणमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले फास्ट ट्र्याक निर्माणमा सेनाले निष्ठापूर्वक काम गरिरहेको उल्लेख गर्दै निर्धारित समयमै आयोजना सम्पन्न गर्न शुभकामना दिनुभयो।
कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फास्ट ट्र्याक निर्माणका लागि अब समय थप गर्न नसकिने बताउनुभयो। निर्धारित समयभित्र काम सम्पन्न नगरे ठेक्का तोड्ने सरकारी नीतिअनुसार काम गर्न उहाँले निर्माण कम्पनीलाई आग्रह गर्नुभयो। आयोजना सम्पन्न भएपछि नेपालमा दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो।
महादेवटार सुरुङ निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको हो। यहाँ समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि अर्को सुरुङको ३.४८६ किलोमिटर खण्डको ब्रेक थ्रु भदौ दोस्रो साता नै भइसकेको थियो। नेपाली सेनाका अनुसार महादेवटार सुरुङमार्ग नेपालकै सबैभन्दा लामो सुरुङमार्ग हो।
ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्र्याकको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ। आयोजनाअन्तर्गत सुरुङमार्गको कुल लम्बाइ ११.२ किलोमिटर रहनेछ। धेद्रे र लेनडाँडा सुरुङको ब्रेक थ्रु भइसकेको छ भने अहिले फिनिसिङको काम भइरहेको छ। धेद्रे सुरुङ १ हजार ६ सय ९१ मिटर र लेनडाँडा सुरुङ १ हजार ६ सय २३ मिटर लामो छन्।
आयोजनाअन्तर्गत चन्द्रामभीर सुरुङको लम्बाइ २ हजार २ सय ३७ मिटर रहेकामा हालसम्म ७ सय ८० मिटर खनिएको छ। त्यस्तै, ५ सय २० मिटर लामो सिसौटार सुरुङमा ५३ मिटर र १ हजार ८७ मिटर लामो देवीचौर सुरुङमा १ सय २३ मिटर खनिएको नेपाली सेनाले जनाएको छ। ५ सय ८३ मिटर लामो मौरीभीर सुरुङ खन्न पोर्टल निर्माणको काम भइरहेको छ।
९ वर्षमा आधा मात्रै काम
नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको नौ वर्ष पुग्दा पनि फास्ट ट्र्याकको भौतिक प्रगति ५०.५४ प्रतिशत मात्रै पुगेको छ। आयोजनाको वित्तीय प्रगति भने ५१ प्रतिशत रहेको छ।
सरकारले २०७४ साउन २७ गते नेपाली सेनालाई आयोजनाको निर्माण व्यवस्थापनको जिम्मेवारी दिएको थियो। सुरुमा २०८१ मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम पूरा नभएपछि चैत २०८३ सम्म म्याद थपिएको थियो। पछिल्लो पटक आयोजनाको समयसीमा चैत २०८६ सम्म पुर्याइएको छ।
आयोजनाको प्रमुख चुनौतीमध्ये खोकना–डुकुछाप खण्डको जग्गा अधिग्रहण र सुरु विन्दु निर्धारणसम्बन्धी समस्या रहेको छ। यस क्षेत्रमा सवारी आवागमन व्यवस्थापनबारे पनि निर्णय हुन बाँकी छ।
आयोजनाका अनुसार डीपीआरबमोजिम मूल्य निर्धारण भएर पनि अधिग्रहण हुन बाँकी व्यक्तिगत जग्गा १ सय ३६ रोपनी, गुठीको १४ रोपनी र मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनी छ। स्मार्ट सिटी, बाहिरी चक्रपथ र फास्ट ट्र्याकलगायत आयोजना एकै क्षेत्रमा निर्माण गर्दा पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका छन्।
८९ पुलमध्ये ५ वटाको निर्माण सम्पन्न
फास्ट ट्र्याकमा निर्माण गर्नुपर्ने ८९ पुलमध्ये ८५ वटाको ठेक्का व्यवस्थापन भई काम भइरहेको छ। खोकना खण्डका चार पुलको भने ठेक्का व्यवस्थापन हुन सकेको छैन। हालसम्म पाँचवटा पुल निर्माण सम्पन्न भएका छन्। आयोजनामा ८२ मिटरसम्म अग्ला पुल निर्माण गरिएका छन्।
समग्र आयोजनाको भ्याटसहित लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। गत भदौ मसान्तसम्म आयोजनामा ९४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको नेपाली सेनाले जनाएको छ।






