हेटौंडा उपमहानगरपालिका-१२ मा पहिलो पटक वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा माघ १६ गतेदेखि बुद्ध माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।
मंगलबार पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईले प्रतियोगितामा विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जानकारी दिए। विजेता पुरस्कार तुलसी मेहर मेमोरियल आवासीय माध्यमिक विद्यालय तथा नारायणी कलेजले प्रायोजन गरेका छन्।
प्रतियोगिता संयोजक मनोज स्याङ्तानका अनुसार वडाबाट १ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ भने बाँकी खर्च स्थानीय समाजसेवीहरूबाट जुटाइने छ। करिब ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
करिब १३ टिमको सहभागिता रहने अनुमान गरिएको प्रतियोगितामा प्रत्येक टिमले वडाबाहिरका बढीमा ३ जना खेलाडी समावेश गर्न पाउने नियम रहेको छ। विधागत रूपमा पनि खेलाडीहरूलाई पुरस्कृत गरिने आयोजकले जनाएका छन्।