ताप्लेजुङ – प्रतिनिधिसभा सदस्य तथा एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा देवी मुकुम्लुङ केबलकारसम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनका अनुसार संघीय, प्रदेश तथा स्थानीय तहबाट कानुनी प्रक्रिया पूरा गरी पाथीभरा देवी मुकुम्लुङ केबलकार प्रा.लिले निर्माण कार्य अघि बढाइसकेको छ। जिल्लाका सबै राजनीतिक दल तथा जनप्रतिनिधि केबलकार निर्माणको पक्षमा रहेको उनले बताए।
केबलकार निर्माणको औचित्य
भट्टराईका अनुसार पाथीभरा नेपालकै प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य हो। भारतका सिक्किम, दार्जिलिङ, असम, पश्चिम बंगाल, उत्तर प्रदेश, बिहार लगायतका क्षेत्रबाट हरेक वर्ष लाखौं श्रद्धालु एवं पर्यटक आउने गर्दछन्। पाथीभरा क्षेत्र विकास समितिको तथ्यांकअनुसार गत वर्ष मात्रै झन्डै तीन लाख तिर्थालु पाथीभरा पुगेका थिए।
उनले ताप्लेजुङको आर्थिक समृद्धिको आधार पर्यटन, जलस्रोत र कृषि भएको उल्लेख गर्दै पर्यटनमैत्री पूर्वाधार निर्माणले स्थानीय रोजगारी, व्यवसाय तथा समृद्धिमा टेवा पुग्ने बताए। वृद्धवृद्धा, बालबालिका तथा अपांगता भएका व्यक्तिलाई सहज पहुँच उपलब्ध गराउन केबलकार उपयुक्त विकल्प हुने उनको तर्क छ।
पर्यावरणीय प्रभाव र संस्कृति संरक्षण
भट्टराईले केबलकार निर्माणले धर्म, संस्कृति तथा आस्थामा कुनै असर नगर्ने दाबी गरे। केबलकार स्टेशन पवित्र कान्छी थानभन्दा २०० मिटर टाढा तथा पाथीभरा मूल मन्दिरभन्दा करिब ८०० मिटर बाहिर रहने उनले बताए। पाथीभरा टुप्पोमा होटल वा रेस्टुरेन्ट निर्माण नहुने र झण्डै २११२ रुख मात्रै कटान हुने जानकारी गराउँदै २५ हजार रुख कटानको हल्ला निराधार रहेको स्पष्ट पारे।
समस्याको समाधान वार्तामार्फत गर्नुपर्ने आग्रह
माघ १२ गते निर्माणस्थलमा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै उनले घाइते प्रहरी तथा नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, सरकारले घाइतेहरूको उपचारको व्यवस्था गर्नुपर्ने माग गरे।
उनले आन्दोलनरत पक्षलाई वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै बन्द हडतालका कार्यक्रम फिर्ता लिन अनुरोध गरे। स्थानीय तहको नेतृत्वमा सर्वपक्षीय समिति निर्माण गरी केबलकारबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष पारदर्शी रूपमा परिचालन गर्नुपर्ने उनको भनाइ छ।
स्थानीयलाई प्राथमिकता दिनुपर्ने माग
भट्टराईले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, १० वर्षमुनिका बालबालिका तथा अपांगहरूका लागि केबलकार निःशुल्क बनाउनुपर्ने बताए। स्थानीय नागरिकका लागि सुलभ सेयरको व्यवस्था, रोजगारीमा पहिलो प्राथमिकता, केबलकार शुल्कमा ५० प्रतिशत छुट तथा शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने उनको माग छ।
उनले गृहमन्त्री तथा कोशी प्रदेश मुख्यमन्त्रीले समस्या समाधानमा देखाएको तत्परताप्रति आभार व्यक्त गर्दै वार्तामार्फत शान्तिपूर्ण समाधान निकाल्न सबै पक्षलाई आग्रह गरे।
समाजमा शान्ति र सद्भाव कायम राख्न अपिल
भट्टराईले ताप्लेजुङको समग्र विकासका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न अनुरोध गर्दै सामाजिक सद्भाव कायम राख्न संयमता अपनाउन सम्बन्धित सबै पक्षलाई अपिल गरे।