नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडास्थित होटल सामनाको सभाहलमा जारी २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एफएम रुपेश जयसवाल र सिन्दिरा जोशी उपाधि नजिक पुगेका छन्।
पुरुषतर्फ, पूर्व नेपाल च्याम्पियन जयसवालले आठौं चरणमा सिएम नवीन तण्डुकालाई पराजित गरेका छन्। उनले पूर्व युवा च्याम्पियन पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जयसवालले आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग अंक वृद्धि गरेका छन्। उनले २०९३ रेटिङ्गबाट खेल प्रारम्भ गरेका थिए र हाल २३०५ रेटिङ्गमा पुगेका छन्।
संयुक्त दोस्रो स्थानमा एफएम क्षितिज भण्डारी, पुरुषोत्तम सिलवाल, र राजन सुवेदी रहेका छन्। तीनै खेलाडीले समान ५.५ अंक जोडेका छन्। क्षितिजले ६.५, पुरुषोत्तमले २२, र राजनले ३२.८ रेटिङ्ग अंक वृद्धि गर्न सफल भएका छन्।
तेस्रो स्थानमा रहेका सिएम शुश्रुत दहालले ५ अंक बनाएका छन् भने आशीष फुँयाल र एफएम रिजेन्द्र राजभण्डारी ४.५ अंकसहित चौथो स्थानमा छन्।
महिला स्पर्धामा वर्तमान च्याम्पियन सिन्दिरा जोशी शीर्ष स्थानमा उभिएकी छिन्। उनले ६.५ अंक जोड्ने क्रममा पाँच खेल जितेकी छन् भने तीन खेल बराबरी खेलेकी छन्।
संयुक्त दोस्रो स्थानमा बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जन रहेका छन्। दुबैले समान ६ अंक जोडेका छन्। इशाले पाँच जीत, एक हार, र दुई बराबरी खेलेकी छिन् भने एञ्जलले छ खेल जितेर दुई खेलमा हार बेहोरेकी छिन्।
तेस्रो स्थानमा मोरङकी शान्ति धिमाल ५.५ अंकसहित छिन्। कीर्तिपुरकी बिनिता कपालीले पाँच जीत र तीन हारसहित राम्रो सम्भावना देखाएकी छन्।
प्रतियोगिता अवधिमा खेलाडीहरूलाई हेटौंडाको सहिद स्मारक र मकवानपुरगढी जस्ता पर्यटकीय स्थल भ्रमण गराइएको नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाले जानकारी दिए। प्रतियोगिताको थप दुई चरणको खेल शुक्रबार(आज) बिहान ९ बजे र दिउँसो ३ बजे सञ्चालन हुनेछ।