हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न यही माघ २५ गते विशेष समारोहको आयोजना गरिँदैछ। “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ हुने सो कार्यक्रमको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन सम्पन्न भएको छ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष दीपक खड्काले वडाका गतिविधिबारे प्रेस विज्ञप्ति प्रस्तुत गरेका थियो।
बालमैत्री अभियानमा हेटौंडा-१४ को अग्रसरता
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका अन्तर्गत रहेको वडा नम्बर १४ को क्षेत्रफल १६.३२ वर्ग कि.मी. रहेको छ। यसको पूर्वमा त्रिभुवन राजपथ (वडा नं. १५), पश्चिममा वडा नं. १३, उत्तरमा वडा नं. ९, तथा दक्षिणमा पर्सा राष्ट्रिय निकुञ्ज अवस्थित छ। मुख्य रूपमा ग्रामीण क्षेत्रको रूपमा रहेको यस वडाले बालबालिकाको सुरक्षाका लागि प्रभावकारी पहलहरू अघि बढाएको छ।
२०७९ को घरधुरी तथ्याङ्क अनुसार, वडामा १८ वर्ष मुनिका २,४९४ बालबालिका छन्, जसमा १,२६७ बालक र १,२२७ बालिका रहेका छन्। यस वडामा ६ वटा विद्यालय, २२ बालसमूह र १ वडा बाल सञ्जाल क्रियाशील छन्, जहाँ ५५० जना बालबालिकाहरू प्रत्यक्ष रूपमा संलग्न छन्।
बालमैत्री स्थानीय शासन घोषणा नजिक
नेपाल सरकारद्वारा तोकिएका बालमैत्री स्थानीय शासनका ५१ सूचकहरूमध्ये ४७ सूचकमा १०० प्रतिशत उपलब्धि हासिल भइसकेको छ भने ४ सूचकमा आवश्यक न्यूनतम मापदण्ड पूरा गर्दै वडा घोषणा गर्न सक्ने अवस्थामा पुगेको छ। यसअघि वडा पूर्ण खोप वडा, पूर्व साक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा भइसकेको छ।
बालबालिकाको अधिकार, संरक्षण, विकास र सहभागिता सुनिश्चित गर्न वडा कार्यालय, स्थानीय संघसंस्था, बालसमूहहरू, अभिभावक तथा सबै सरोकारवालाहरूको सक्रिय भूमिका आवश्यक रहेको वडा अध्यक्ष दीपक खड्काले जानकारी दिए।
सम्पूर्ण बडाबासीलाई सहभागिताको अपिल
यस ऐतिहासिक घोषणालाई सफल बनाउन यही माघ २५ गते श्री भृकुटी मा.वि., हेटौंडामा आयोजना हुने कार्यक्रममा उपस्थित भई ऐक्यबद्धता जनाइदिनुहुन सम्पूर्ण बडाबासीलाई वडा कार्यालयले हार्दिक अपिल गरेको छ।







