हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा आगामी फागुन ४, ५ र ६ गते तीनदिने सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिले यसको जानकारी दिएको हो।
“संस्कार, संस्कृति, साहित्य र कलाको जगेर्ना गरौं, स्थानीय व्यापार र कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवमा पदमपोखरीको पहिचान झल्काउने विभिन्न प्रदर्शनीसमेत रहने छन्। वडाध्यक्ष पेम्बा लामाका अनुसार स्थानीय उत्पादन, बजारीकरणको अवधारणाको विकास तथा कृषि उपज प्रवर्द्धन गर्दै वडावासीको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्य महोत्सवको रहेको छ।
महोत्सवमा परम्परागत उपभोग्य कृषि उपज, आधुनिक सीपमा आधारित उत्पादन, बाँसजन्य सामग्री, स्थानीय परिकारलगायत ८० वटा स्टल रहने छन्। साथै, मदिराजन्य पदार्थमा विशेष रोक लगाइने जनाइएको छ।
करिब १० लाख रुपैयाँ खर्च अनुमान गरिएको महोत्सवमा रोज मोक्तान, प्रति आले, टिका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, विक्रम लुङ्वालगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिने छन्। साथै, नृत्य प्रस्तुतिहरू समेत रहने संयोजक रञ्जु गोम्जाले जानकारी दिइन्।







