मकवानपुरको सिस्नेरिमा गएको पहिरोमा ज्यान गुमाएका अनुपम घलानको सम्झनामा हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले १६ वर्षमुनि (U-16) खेलाडीहरूबीच फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता आगामी फागुन ७ गतेदेखि हेटौंडा–५ क्याम्पा रंगशालामा सुरु हुनेछ। खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरेका अनुसार यो प्रतियोगिता आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ।

हेटौंडाका १९ वटै वडाका इच्छुक खेलाडीहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्। १६ वर्ष उमेर ननाघेका र वडाबाट सिफारिस भई आएका खेलाडीहरूले मात्र भाग लिन पाउनेछन्। इच्छुक टिमहरूले फागुन ४ गतेभित्र नगर खेलकुद विकास समितिमा दर्ता गराउनुपर्नेछ।
प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले ७० हजार रुपैयाँ पाउनेछ। व्यक्तिगत विधागत पुरस्कार अन्तर्गत सर्वाेतकृष्ट खेलाडिले ५ हजार, उत्कृष्ट फर्वाडरले १० हजार, उत्कृष्ट किपरले ५ हजार, उत्कृष्ट प्रशिक्षकले ५ हजार र उत्कृष्ट डिफेन्सरले ५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख रुपैयाँ विनियोजन गरेको छ। खेल फिफाको नियमअनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ।
गत असोज १२ र १३ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरिमा गएको पहिरोमा परी एन्फा द्वारा सञ्चालित सिस्नेरीस्थित वात्सला देवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका १२ वर्षीय अनुपम घलानसहित ६ जना खेलाडीले ज्यान गुमाएका थिए।
शुक्रबार प्रतियोगिता घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, सदस्य यज्ञ बहादुर राई र सुनिल लोप्चनको उपस्थिति रहेको थियो।







