हेटौंडा/बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले चार वटा विधेयकलाई दफावार छलफल तथा संशोधनका लागि संसदीय समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
शनिबार(आज)प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले अनुमोदन गरेको हो।
शनिबारको पहिलो बैठकले स्वास्थ्य मन्त्री किरण थापा मगरको तर्फबाट श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले पेस गरेको ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले पेस गरेको ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई छलफलका लागि उद्योग तथा वातावरण समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रस्तुत गरेको ‘प्रदेश कृषि सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक’ छलफलका लागि शिक्षा स्वास्थ्य तथा कृषि समितिमा सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ ।
त्यस्तै उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले प्रस्तुत गरेको ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई दफाबार छलफलका लागि उद्योग तथा वातावरण समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ ।
समितिमा सभामुख पाठकले अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्।







