मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा खेलकुद महोत्सव–२०८१ सुरु भएको छ। गत माघ ९ गतेदेखि सञ्चालन भइरहेको महोत्सवको उद्घाटन शुक्रबार हेटौंडा–४ स्थित हुप्र चौरमा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले गरेका हुन्।

उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालय तहबाटै खेलकुद संस्कृतिको विकास गर्न सकेमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताए। उनले राज्यले खेल क्षेत्रको उचित व्यवस्थापन र विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

वडाध्यक्ष नवीन सिग्देलले शिक्षा र खेलकुद विद्यार्थीहरूको शारीरिक तथा बौद्धिक विकासका लागि आवश्यक रहेको बताए। उनले ठूला भौतिक संरचना मात्रले विकास सम्भव नहुने उल्लेख गर्दै खेलकुदको प्रवर्द्धन आवश्यक रहेको धारणा राखे।
उद्घाटन समारोहपछि वडा नम्बर–४ ले
वृहत र्यालीको आयोजना गर्यो। र्यालीमा सत्यम जेभिर्यस माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय मावि, रोज एकेडेमी इङ्गलिस स्कुल, र भुटनदेवी माविका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
महोत्सवअन्तर्गत वडाका विद्यालयहरूले विभिन्न खेलहरूको व्यवस्थापन गरेका छन्। आधुनिक माविले भलिबल, भुटनदेवी माविले क्रिकेट, र नवोदय शिशु सदनले बास्केटबल प्रतियोगिता आयोजना गरेका छन्। खेल व्यवस्थापन गर्ने विद्यालयहरूलाई वडा कार्यालयले आवश्यक खेल सामग्री प्रदान गरेको छ।
शुक्रबार सय मिटर दौड, दुई सय मिटर दौड, रिले दौड, लङ जम्प लगायतका प्रतिस्पर्धाहरू आयोजना हुने कार्यक्रम छ। उद्घाटन समारोहमा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, वडा–५ का अध्यक्ष शुशिल घिमिरे, वडा–१० का अध्यक्ष फूर्वा दोर्जे लामा लगायतको उपस्थिति रहेको थियो।







