मकवानपुरको हेटौंडा–८ कमानेमा अवस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २५औं रजत जयन्ती विविध कार्यक्रमसहित मनाउने भएको छ। सहकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको जानकारी गराएको हो।
संस्थाका अध्यक्ष मोतीलाल लामाका अनुसार, रजत जयन्तीको अवसरमा फागुन ३ गते शनिबार बिहान मोटरसाइकल प्रभात फेरी आयोजना गरिनेछ। हेटौंडा–८ का विभिन्न क्षेत्रको परिक्रमा गर्दै प्रभात फेरी सम्पन्न हुनेछ।
त्यस्तै, फागुन ६ गते मंगलबार संस्थाको कार्यालयमा रक्तदान कार्यक्रम हुनेछ भने ७ गते १७ वटा टोल विकास संस्थाका १०/१० जनाको सहभागितामा पुरुष तथा महिला डोरी तान्ने प्रतियोगिता आयोजना गरिनेछ। फागुन ८ गते बिहीबार ओमनगर औद्योगिक गेटबाट मुख्य सडकसम्म सरसफाइ अभियान सञ्चालन गरिनेछ।
फागुन ९ गते चन्द्रोदय माध्यमिक विद्यालयमा वडाका बाल समूहहरूबीच हाजिरिजवाफ प्रतियोगिता आयोजना गरिनेछ। साथै, फागुन ११ गते आइतबार चन्द्रोदय माविका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरिनेछ।
रजत जयन्ती समापन समारोह फागुन १७ गते शनिबार हुनेछ। उक्त अवसरमा पुरस्कार वितरण, संस्थापक सदस्यहरूको सम्मान तथा सम्पूर्ण कार्यक्रमहरूको समापन गरिनेछ। संस्थाका १४९ संस्थापक सदस्यहरूमध्ये ५९ जना शेयर सदस्यलाई चाँदीको जलप भएको ‘रजत जयन्ती’ लेखिएको लकेट प्रदान गरिनेछ।
संस्थाका व्यवस्थापक केशबकुमार शाहीका अनुसार, कार्यक्रम सम्पन्न गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहकारीले बचत तथा ऋण कारोबारसँगै दैनिक २०० लिटर तेल उत्पादन गरी हेटौंडा, काठमाडौं, चितवन लगायतका सहरहरूमा बिक्री गर्दै आएको छ। माघ मसान्तसम्म सहकारीले सदस्यहरूलाई ६ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरिसकेको छ भने तीन करोड ६५ लाख रुपैयाँ बचत निक्षेप संकलन गरेको छ।
हाल सहकारीमा १,१०० सदस्य आबद्ध रहेका छन् भने एक करोड ६ लाख रुपैयाँ शेयर पुँजी रहेको व्यवस्थापक शाहीले जानकारी गराएका छन्।







