सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी सुरुवात गरेको छ। आइतबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा एपीएफले चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्यो।
निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न सकेनन्, जसका कारण खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनि कुमार लामाले गोल गरे भने हानामी बिएफसीतर्फ अमन लामाले मात्र गोल गर्न सफल भए। बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेशी खेलाडी बफरको प्रहार बाहिरियो। उत्कृष्ट प्रदर्शन गरेका एपीएफका गोलरक्षक श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए।
खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर मैदान छोड्नुपरेको थियो, तर पनि एपीएफले आफ्नो पकड कायम राख्न सफल भयो। गत संस्करणको उपविजेता रहेको एपीएफ यस पटक उपाधि जित्ने लक्ष्यमा छ।
प्रतियोगिता फाल्गुन १२ गतेसम्म सञ्चालन हुनेछ। विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई १० हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।







