मकवानपुर – मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिताको उपाधि ओमनगर क्रिकेट क्लबले जितेको छ।
आइतबार हेटौँडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा मकवानपुर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै ओमनगरले उपाधि हात पारेको हो।
प्रतियोगिताको विजेता ओमनगर र उपविजेता मकवानपुर क्रिकेट क्लबलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ। उत्कृष्ट बलरको उपाधि मकवानपुरका निश्चल दुलालले प्राप्त गरे भने उत्कृष्ट ब्याट्सम्यान ओमनगरका गौरव खड्का घोषित भए। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी ओमनगरकै रोहित ठाकुर बने। तिनै खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरियो।
टस जितेर पहिला ब्याटिङ गरेको मकवानपुर क्रिकेट क्लबले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा ११६ रन बनायो। मकवानपुरका तक्षक सिम्खडाले सर्वाधिक ३२ रन बनाए भने आशिक अधिकारीले १६ र सुमन सुनारले १२ रन योगदान दिए। विशेष थापा र शिवशक्ति महतोले समान १०/१० रन बनाए। बलिङतर्फ ओमनगरका अहमद राजाले ३ विकेट लिए भने रोहित ठाकुरले २ विकेट झारे।
१ सय १७ रनको लक्ष्य पछ्याएको ओमनगर क्रिकेट क्लबले १२.२ ओभरमै १ सय १८ रन बनाउँदै सहज जित निकाल्यो। ओमनगरका शुभ कंशाकारले अविजित ५१ रनको उत्कृष्ट पारी खेलेर टिमलाई जित दिलाए। गौरव खड्काले ३४ रन तथा आशिक दहालले १७ रनको योगदान गरे। गोकुल अधिकारी ७ रनमा आउट भए। उत्कृष्ट प्रदर्शन गरेका शुभ कंशाकार ‘म्यान अफ द म्याच’ घोषित भए।
प्रतियोगितामा सहभागी खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना तथा दोस्रो चरणमा १४ जना छनोट गरी मकवानपुर जिल्ला टोली तयार गरिनेछ। छनोट प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि रहेका थियो भने पुरस्कार वितरण समारोह मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महतरा क्षेत्रीको सभाध्यक्षतामा सम्पन्न भएको थियो।








