हेटौडा/ पशु सेवा कार्यालय मकवानपुरले सशस्त्र प्रहरीको सहयोगमा बारा पथलैयाबाट २५ वटा गोरु ओसारपसार गरिरहेको ट्रक नियन्त्रणमा लिएको छ। हेटौंडाबाट बारातर्फ गइरहेको बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकमा गोरु तस्करी भइरहेको सूचनाका आधारमा आइतबार उक्त ट्रक नियन्त्रणमा लिइएको हो।

ट्रक नियन्त्रणमा लिइएपछि चालक र गोरु चराउने सहायकहरू फरार भएका छन्। त्यसपछि हेटौँडाबाट अर्को चालक ल्याएर ट्रक हेटौँडा ल्याइएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए।
छानबिनका क्रममा गोरु ओसारपसारका लागि प्रयोग गरिएको भेटेरिनरी प्रमाणपत्र नक्कली रहेको पाइएको छ। सो प्रमाणपत्रमा तनहुँको आबुखैरेनीका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई गोरु बिक्री गरेको उल्लेख गरिएको थियो। प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि प्रमाणीकरण नभएको ठाकुरले बताए।
गोरुहरूलाई सर्लाहीको नवलपुरमा दुई दिन राखेर अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको फेला परेको छ। प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर मकवानपुर-१६, हेटौँडाको लक्ष्मी चौपाया सप्लायर्सको नाममा बिजक जारी गरिएको थियो।
तनहुँको आबुखैरेनीबाट काकडभिट्टातर्फ गइरहेको ट्रकलाई बारा जिल्ला पथलैया राजस्व कार्यालयको समन्वयमा नियन्त्रणमा लिएर पशु सेवा कार्यालय मकवानपुरलाई जिम्मा लगाइएको हो।
घटनाको विवरण अनुसार, ४ फागुन आइतबार दिउँसो गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रक नियन्त्रणका लागि तयार थिए। रातोमाटे प्रहरी चौकीमा पुगेपछि उनले ट्रक अवैध रूपमा गइरहेको जानकारी स्थानीय प्रहरीलाई गराएका थिए। तर, प्रहरीले ट्रकलाई रोक्ने आवश्यक पहल नगरेको आरोप ठाकुरले लगाए। उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी विश्वराज खड्कालगायतलाई जानकारी गराए पनि ट्रकलाई प्रहरीले नै बाइक स्कर्टिङ गरी नाका कटाउन सहयोग गरेको दाबी गरे।
प्रहरीको असहयोगपछि ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख एसपी सन्तोष विक्रम शाहसँग समन्वय गरी पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमार्फत ट्रक नियन्त्रणमा लिएको बताए। रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने गोरु तस्करीबारे आफूलाई कुनै जानकारी नआएको बताए। उनले चौकीमा सामान्य जाँचपछि ट्रक छोडिएको मात्र बताएका छन्।
नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। साथै, गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध मानिन्छ। कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नलाई कानुनी कारबाही गरिने बताइएको छ।







