हेटौंडा/ मकवानपुरको हेटौंडामा ६ फागुनदेखि सञ्चालन हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ मकवानपुरले महोत्सवको तयारी सकिएको जानकारी गराएको हो।

१० वर्षपछि पुनः आयोजना हुन लागेको महोत्सव नेपाल निर्माण व्यवसायी महासंघ र संघको संयुक्त आयोजना हो। महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नेछन्। उद्घाटन समारोहमा सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
निर्माण उद्योग प्रवर्द्धनका लागि विशेष स्टल तथा अन्तरक्रिया कार्यक्रम
महोत्सवमा ३५० भन्दा बढी स्टल रहनेछन्, जसमा निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी तथा उपभोक्ताहरूको सहभागिता रहनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहनस्वरूप स्टल भाडामा ५० प्रतिशत छुट प्रदान गरिएको आयोजकले जनाएको छ।
निर्माण उपकरण तथा औद्योगिक व्यवसाय प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। व्यवसायी, बिक्रेता, तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
‘हेटौंडा आइडल’ मुख्य आकर्षण
महोत्सवको अर्को मुख्य आकर्षण ‘हेटौंडा आइडल’ प्रतियोगिता हुनेछ, जसमा मकवानपुरका नवप्रतिभाहरूले आफ्नो गायन क्षमता प्रस्तुत गर्नेछन्। १५ जना प्रतिस्पर्धी छनोट भइसकेका छन्, जो महोत्सव अवधिभर स्टेज प्रस्तुति दिनेछन्। विजेताको घोषणा दर्शक भोटिङमार्फत गरिने आयोजकले जनाएको छ।
सांस्कृतिक कार्यक्रम र मनोरञ्जनात्मक गतिविधिहरू
हेटौंडा–१० टिसिएन चौरमा आयोजना हुने महोत्सव फागुन १८ गतेसम्म चल्नेछ। प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ। आगन्तुकहरूका लागि बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूको समेत व्यवस्था गरिएको छ।
महोत्सव सफलताका लागि २५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको छ। आयोजक समितिले स्थानीय बासिन्दा, व्यवसायी तथा सम्पूर्ण इच्छुक नागरिकहरूलाई महोत्सवमा सहभागिता जनाउन अनुरोध गरेको छ।
करिब ३ करोडको कारोबार अपेक्षा
महोत्सवमा करिब १ लाख ५० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ। साथै, महोत्सव अवधिमा करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ। उद्घाटनको दिन निःशुल्क प्रवेश हुने भएकाले पहिलो दिन उल्लेखनीय भीड हुने अनुमान गरिएको छ।








