हेटौंडा/मकवानपुरकाे बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार भएको पहिलो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै चर्च व्वाइज अन्तिम चारमा पुगेको हो। सहिद स्मृति रंगशालामा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।
चर्च व्वाइजका लागि विदेशी खेलाडी अर्मान विडम र अनयोमीसहित सुमित श्रेष्ठ, दिपेश गुरुङ र सुजल डंगोलले गोल गरे। आर्मीका तर्फबाट विमल पाण्डे, फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे। तर, आर्मीका नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिंह थापाले बचाएपछि उनकी टिम विजयी भयो। खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका थापाले १० हजार रुपैयाँ प्राप्त गरे।
बागमती खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ। उपाधि विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसल क्लबसहित १० टिमको सहभागिता रहेको छ। गत वर्षको छैठौं संस्करणमा मछिन्द्र क्लब च्याम्पियन बनेको थियो भने एपीएफ क्लब उपविजेता भएको थियो।







