हेटौंडा/ हेटौंडा-१० स्थित टिसियन चौरमा निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ सुरु भएको छ। उक्त कार्यक्रम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले गरेका थिए।

गृहमन्त्री लेखकले मुलुकको विकासमा निर्माण व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निर्माण कार्य गुणस्तरपूर्ण र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।
साथै, सरकारले निर्माण व्यवसायीहरूको भुक्तानी प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले बाँकी रकमसमेत शीघ्र भुक्तानी गरिने प्रतिबद्धता व्यक्त गरे। निर्माण क्षेत्रको सुरक्षामा कुनै दबाब वा प्रभाव नपरोस् भनेर सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउने उनको भनाइ थियो।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले भने गृहमन्त्रीले यस्ता महोत्सवमा सहभागी हुनु उचित नभएको बताएका छन्। उनले गृहमन्त्रीलाई मुलुकभर दौडनुपर्ने आवश्यकतालाई इंगित गर्दै सुरक्षा जस्तो संवेदनशील विषयमा केन्द्रित रहन सुझाव दिए।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिना, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, नेका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ, बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, प्रेम पुलामी मगर, लक्ष्मी श्रेष्ठ, सुरक्षा निकायका बागमती प्रदेश प्रमुख तथा जिल्ला प्रमुखहरू लगायत ५०० देखि ६०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रम संघका जिल्ला अध्यक्ष बालगोपाल कंडेलको सभाध्यक्षतामा भएको हो।







