बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री प्रकाश श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै आजको दिनलाई सारा नेपालीले विशेष दिनको रूपमा सम्झनुपर्ने उल्लेख गर्नुभएको छ। उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिनुभएको हो।
मन्त्री श्रेष्ठले शुभकामना सन्देशमा भन्नुभएको छ, “राष्ट्रिय प्रजातन्त्र दिवस नेपाली जनताको संघर्ष, बलिदान र त्यागको ऐतिहासिक दिन हो। यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रसंरक्षणका लागि आफ्नो प्राणको आहुती दिने वीर सहिदहरूको उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।”
उहाँले प्रजातन्त्र प्राप्तिका लागि गरिएको बलिदानको कदर गर्दै जनताको अधिकारको संरक्षण गर्नु सबैको जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। साथै, लोकतान्त्रिक मूल्य, विधि र प्रक्रियालाई संस्थागत गर्दै समृद्ध नेपालको निर्माणमा सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
मन्त्री श्रेष्ठले नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र नवप्रवर्तनमार्फत उत्पादन वृद्धिमा जोड दिनुपर्ने कुरामा पनि ध्यानाकर्षण गराउनुभयो। “कृषि र पशुपालनको प्रवर्द्धनबाट मात्र हामी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्छौँ। सरकार कृषकका हकहितका लागि प्रतिबद्ध छ,” उहाँले भन्नुभयो।
नेपालको लोकतान्त्रिक आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई जोगाउँदै राजनीतिक स्थायित्व, समावेशी आर्थिक विकास र सामाजिक न्याय सुनिश्चित गर्न सबै क्षेत्रका नागरिक, सरकार र सरोकारवालाहरूले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने मन्त्री श्रेष्ठले जोड दिनुभएको छ।







