बागमती: सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा एपीएफले संकटा क्लबलाई १-० गोलअन्तरले पराजित गर्यो। खेलको ८३ औं मिनेटमा सुपर सब सुजन कुमार पुलामीले निर्णायक गोल गर्दै टिमलाई जीत दिलाए। उनी ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा मैदान प्रवेश गरेका थिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका मणि कुमार लामालाई म्यान अफ दी म्याच घोषित गरियो। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
यसअघि एपीएफले भरतपुर एफसीलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो, जबकि संकटाले वाई पाउँदै सिधै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो।
बागमती गोल्डकपमा दुबै टिम उपविजेता रहिसकेका छन्। एपीएफ छैठौं संस्करणमा मछिन्द्र क्लबसँग पराजित भएको थियो भने संकटा पाँचौं संस्करणमा क्यामरुनको भुटनिज स्पोर्ट्ससँग पराजित भएको थियो।
प्रतियोगिता फाल्गुन १२ गतेसम्म सञ्चालन हुनेछ। विजेता टिमले १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख हात पार्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार नगदसहित शिल्ड प्राप्त गर्नेछन्।







