हेटौंडा/हेटौंडामा पहिलो संस्करणको अनुपम घलान स्मृति यू–१६ नगरस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको ८ र १८ नम्बर वडाले विजयी यात्रा सुरु गरेका छन्।
उद्घाटन खेलमा हेटौंडा–१८ ले ७ नम्बर वडालाई १–० गोल अन्तरले पराजित गर्यो। पहिलो हाफको छैठौं मिनेटमा अनमोल मिजारले गरेको एक मात्र गोल नै टिमको जितमा निर्णायक बन्यो। मिजार खेलको म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा हेटौंडा–८ ले हेटौंडा–१३ लाई टाइब्रेकरमा हराउँदै अघिल्लो चरणको यात्रा पक्का गर्यो। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकर मार्फत विजेता टुंगो लगाइएको थियो।

हेटौंडा–८ का शिशिर भण्डारीले दोस्रो हाफको आठौं मिनेटमा हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, खेलको २८औं मिनेटमा हेटौंडा–१३ का प्रितम थिङले बराबरी गोल फर्काए। खेलको म्यान अफ द म्याच ८ नम्बर वडाका गोलरक्षक प्रकाश परियार घोषित भए।
नगर खेलकुद विकास समितिको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा नगरका १९ मध्ये १० वडाको सहभागिता रहेको छ।







