हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा बिहीबार(आज) चर्चित लोक तथा दोहोरी गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ।
निर्माण व्यवसायी संघ मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा भइरहेको महोत्सवमा बिहीबार गायिका मगरसँगै लोक गायक नवराज घोरासैनी, रवि रिमाल, विश्वराम कार्की, मदन विष्टलगायतका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।
यसअघि, बुधबारको कार्यक्रममा गायक सुगम पोखरेल, सिर्जना खत्री लगायतका कलाकारहरूले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
महोत्सवअन्तर्गत बुधबारदेखि ‘हेटौँडा आइडल’ प्रतियोगिताका छनौट चरणका प्रतिस्पर्धाहरूले आफ्नो प्रस्तुति दिन थालेका छन्। हेटौँडा-१०, टिसिएन चौरमा सञ्चालन भइरहेको मेलामा १ लाख ५० हजार अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ।
महोत्सवमा निर्माणसम्बन्धी विभिन्न कम्पनीका उपकरण प्रदर्शनी, औद्योगिक तथा व्यवसायिक स्टलहरू राखिएका छन्। करिब ३५० स्टल रहने यो मेला फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।







