हेटौँडा उपमहानगरपालिकास्तरीय अनुपम घलान स्मृति यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–१५ ले जितेको छ। शनिबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा हेटौँडा–१८ लाई सडन डेथमा हराउँदै हेटौँडा–१५ च्याम्पियन बनेको हो।

हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो। फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा प्रवेश गरिएको थियो। टाइब्रेकरमा ४–४ को बराबरी भएपछि सडन डेथमा हेटौँडा–१५ का विकास थिङले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए।
हेटौँडा–१५ ले उपाधिसँगै एक लाख रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता हेटौँडा–१८ ले ७० हजार रुपैयाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगितामा हेटौँडा–१८ का अभिराज थापा मगर सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरे। हेटौँडा–१५ का उज्ज्व वाईबा उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नवीन लो भए। उत्कृष्ट मिडफिल्डर हेटौँडा–१८ का साजन लोप्चन घोषित भए। विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे।
पुरस्कार वितरण समारोह हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरेको सभाध्यक्षमा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख राजेश बानियाँ रहेका थिए भने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, विभिन्न वडाध्यक्षलगायत आतिथ्य रहेको थियो ।







