मकवानपुरको हेटौंडामा निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ गतेदेखि सुरु भएको राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव दर्शकहरूको उल्लेखनीय सहभागिताका साथ जारी छ। शनिबार(आज) मेलामा दर्शकहरूको अत्यधिक उपस्थिति देखिएको छ।
शनिबार चर्चित गायिका एलिना चौहानले आफ्नो दमदार प्रस्तुति दिँदै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरिन्। उद्घोषकले एलिनाको नाम मञ्चबाट उच्चारण गर्नेबित्तिकै दर्शकदीर्घाबाट हुटिङको वर्षा भयो। एलिनाले माइक समातेर गाउन सुरु गरेपछि माहौल झनै रोमाञ्चक बनेको थियो।
एलिनाले ‘कट्टा हान्दिन्छ’, ‘धोकेबाज हौ तिमी’, ‘मिनरल वाटर’, ‘दुश्मन हेरेको हेरै’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै दर्शकलाई नचाइन्। उनका गीतहरूमा दर्शकहरू पनि संगै गाउन र नाच्न थाल्दा माहोल झनै रोचक बन्यो।
शनिबार एलिनासँगै गायक कमल खत्री, विशाल खल्तान, जादुगर राजेन्द्र गुन्द्रुके, होचा व्यक्तिका रूपमा चर्चित मनोज गोर्खाली लगायतका कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए।

महोत्सवमा आइतबार(भोलि)चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, गायिका सान्त रानी परियार, मंजु पौडेल, टिका प्रसाई लगायतका कलाकारहरूको प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितिका संयोजक तथा संघका उपमहासचिव सुरज बर्तौलाले जानकारी दिएका छन्।
आइतबार गायक पशुपति शर्मा, गायिका टिका प्रसाई लगायतका कलाकारहरूको प्रस्तुति रहने जानकारी बर्तौलाले दिएका छन्।







