हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान प्रवद्र्धन अन्तर्गतको अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ। गत फागुन ४ गतेदेखि सञ्चालनमा आएको उक्त कार्यक्रम एक सातासम्म चलेको थियो।
सोमबार आयोजित समापन समारोहमा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ। वक्तृत्वकला, वादविवाद, क्रिकेट, फुटबल, भलिबल, हाजिरीजवाफ लगायतका प्रतियोगितामा विजयी बनेका विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका कक्षा–११, १२ का संयोजक तथा खेलकुद शिक्षक राजाराम पोखरेलले जानकारी दिनुभयो। खेलकुद प्रतिस्पर्धामा कक्षा–११ र १२ का २५० जना विद्यार्थीको सहभागिता रहेको थियो।
पुरस्कार वितरण समारोह विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो भने हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला, जिल्ला भलिबल संघका अध्यक्ष बसन्तकुमार सिटौला, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सका सहायक प्रिन्सिपल रामपण्डित खनाल लगायतको उपस्थिति रहेको थियो।







