मकवानपुरको मनहरी गाउँपालिकामा फागुन २१ गतेदेखि चैत्र ४ गतेसम्म खेलकुद तथा व्यापार महोत्सव आयोजना हुँदैछ।
मनहरी गाउँपालिका-७ र ८ का खेल मैदानहरूमा फुटबल, भलिबल, क्रिकेट, ब्याड्मिन्टन, र एथ्लेटिक्स प्रतियोगिताहरू सञ्चालन हुनेछन्। सिमपानी खेल मैदानमा महोत्सवका अन्य कार्यक्रमहरू आयोजना गरिनेछन्।
खेलकुद विकास समितिका अध्यक्ष विरु लामाका अनुसार, फुटबल, क्रिकेट, र एथ्लेटिक्स क्षेत्रीय रंगशालामा, भलिबल गणेशधारा खेल मैदानमा, र ब्याड्मिन्टन रमनटार कभर्डहलमा सञ्चालन हुनेछ। विभिन्न खेलका विजेता र उपविजेताहरूलाई नगद पुरस्कार, ट्रफी, र प्रमाणपत्र प्रदान गरिने आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्।।
महोत्सवको उद्देश्य स्थानीय खेलाडीहरूको पहिचान, पालिकाको प्रवर्द्धन, र खेल तथा मनोरञ्जनलाई एकसाथ अघि बढाउनु हो। महोत्सवमा २०० स्टलहरू रहनेछन्, र राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति समेत हुनेछ।
आयोजकहरूले एक लाख दर्शकको सहभागिता र करिब ५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरेका छन्। महोत्सवबाट बचेको रकम खेलकुद क्षेत्रको विकासमा प्रयोग गरिने लामाले जानकारी दिए।।







