मकवानपुरको कैलाश गाउँपालिकामा सम्पन्न पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा वडा नम्बर १० ले उपाधि जितेको छ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई पेनाल्टी सुटआउटमा ८–७ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता गराएको हो। यससँगै विजेता टिमले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ८ ले ६० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। खेलको १७ औं मिनेटमा वडा नम्बर १० का सूर्य थिङ्गले पहिलो गोल गरेका थिए। त्यसको छ मिनेटपछि वडा नम्बर ८ का देवदुत नेगीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टीमा दुबै टोलीले ५–५ गोल गरेका थिए भने सडन डेथमा वडा नम्बर १० ले ३–२ को गोल अन्तरले जित हासिल गरेको हो। खेलको म्यान अफ द म्याच वडा नम्बर १० का गोलरक्षक विशाल वाइबा घोषित भए।
प्रतियोगिता गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सम्पन्न भएको हो। समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष मुक्तानले विजेता र उपविजेतालाई पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा उत्कृष्ट उदयीमान खेलाडी वडा नम्बर ८ का विपु मुक्तान, उत्कृष्ट फरवार्ड वडा नम्बर १० का सागर बल, उत्कृष्ट डिफेन्डर वडा नम्बर १० का सूर्य थिङ्ग, उत्कृष्ट मिडफिल्डर वडा नम्बर ८ का विपु मुक्तान, सर्वाधिक गोलकर्ता वडा नम्बर ८ का राजन स्याङ्बो (६ गोल), उत्कृष्ट गोलरक्षक वडा नम्बर १० का विशाल वाइबा र सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का अनित सिंतान घोषित भए। उनीहरूलाई ट्रफी प्रदान गरिएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर ९ का अध्यक्ष भुवन सिं घलान, वडा नम्बर १० का अध्यक्ष सूर्य बहादुर ब्लोन, वडा नम्बर ८ का अध्यक्ष आशिष प्रजा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, कालिका माविका प्रधानाध्यापक रामप्रसाद कालाखेती, प्रहरी चौकी नामटारका इन्चार्ज हिराबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।







