मकवानपुर–थाहा नगरपालिकाले हावाहुरी र असिनापानीले घर तथा गोठको छाना उडेको घटनापछि प्रभावित परिवारलाई पुनः छाना लगाउन सहयोग स्वरूप राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ।
नगरपालिकाका मेयर विष्णु विष्टका अनुसार, निजी भवनको प्राविधिक टोलीले घर–घर पुगेर मूल्यांकन (स्टमेट) गरेपछि प्रभावित घरधनीलाई बढीमा प्रतिघर ३० हजार रुपैयाँ राहतका रुपमा उपलब्ध गराइनेछ। मेयरले थपे, प्राविधिक टोलीले आइतबारसम्म प्रतिवेदन पेस गरेपछि विपद व्यवस्थापन समितिले तुरुन्त राहत रकम वितरणको कार्य सुरु गर्ने छ।

थाहा नगरका पशु र कृषि शाखाका प्राविधिकहरुले पनि स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने काम अघि बढाइरहेको बताइयो। यसैबीच, हावाहुरीले विद्युत् पोलहरू ढालेको जानकारी प्राप्त भएको छ।
बिहीबार बेलुका साढे ६ बजेतिर पानीसहित आएको हावाहुरीले थाहा–३ र ४ नम्बर वडा लगायत अन्य क्षेत्रमा रहेका धेरै घर तथा गोठको छाना उडाएको अवस्थामा, वडा कार्यालयका अनुसार वडा न ३ मा ५१ घर–गोठ र वडा न ४ मा २५ घर–गोठमा पुर्ण क्षति पुगेको छ। साथै, वार्ड न ५ मा १० घरको छाना उडिएको छ भने निर्माणाधीन शितभण्डारको छानामा पनि क्षतिको सूचना प्राप्त भएको छ।

थाहा नगरपालिकाले तत्काल राहत स्वरुप पीडितहरुलाई त्रिपाल वितरण गरेको छ भने तरकारी खेतीमा प्रयोग हुने प्लास्टिकका टनेलहरु समेत हावाहुरी र असिनापानीका कारण नष्ट भएको हुँदा तिनको क्षतिबिवरण संकलन गर्ने कार्य चलिरहेको रहेको छ।







