मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र रुपमा सभापतिको उम्मेदवारी दिएका पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा घिमिरेले भोलि (मंगलबार) हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका सभापति उम्मेदवार प्रसिद्ध रेग्मीलाई समर्थन गर्ने घोषणा गरे। साथै, उनले रेग्मी नेतृत्वको प्यानललाई जिताउनका लागि सबै विद्यार्थीलाई मतदान गर्न आग्रह गरे।
“मेरो स्वतन्त्र उम्मेदवारी रहेकोमा सो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु। स्ववियु भनेकै अनेरास्ववियु हो। अब प्रसिद्ध रेग्मीको प्यानललाई सहयोग गर्न सबै विद्यार्थी साथीहरूमा अपिल गर्दछु,” घिमिरेले भने।
अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल बनेपछि रेग्मी नेतृत्वको टिमको जित सुनिश्चित भएको दाबी दुई संगठनका नेताहरूले गरेका छन्। यसअघि, आइतबार मात्र अखिल (क्रान्तिकारी) प्यानलका दुई उम्मेदवारले पनि संयुक्त प्यानललाई समर्थन गरेका थिए।
मकवानपुर बहुमुखी क्याम्पसमा झन्डै २८०० विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्नेछन्।








