मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुले गुमेको राजनीतिक प्रभाव पुनःस्थापित गर्दै ऐतिहासिक जित दर्ता गरेको छ।
जिल्लाका आठ क्याम्पसमध्ये प्रतिष्ठाको केन्द्र मानिने मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा यसपटक अनेरास्ववियुका प्रसिद्ध रेग्मी सभापतिमा विजयी भए। रेग्मीले ७०६ मत प्राप्त गर्दै नेतृत्व सम्हाल्दा उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का छोइसाङ लामाले ५०७ मत प्राप्त गरे।

हिदम लामाको रणनीतिक नेतृत्व
स्ववियु निर्वाचनमा नेकपा एमाले मकवानपुरले पार्टी उपाध्यक्ष तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई कमाण्डर को रूपमा अघि सारेको थियो। विद्यार्थी राजनीतिमा अनुभव भएका लामाले अनेरास्ववियुको रणनीतिक पुनरागमन गराउन महत्वपूर्ण भूमिका खेले।
२०७९ सालको निर्वाचनमा पहिलोपटक हार बेहोरेको अनेरास्ववियुले यसपटक सशक्त रणनीतिसहित पुनः जित हासिल गर्दै आफ्नो राजनीतिक वर्चस्व फर्काएको हो। लामाले अनेरास्ववियुभित्रको आन्तरिक समस्या समाधान गर्दै गठबन्धन दलहरूलाई एकजुट गराउने काम गरे। साथै, स्वतन्त्र उम्मेदवारहरूलाई अनेरास्ववियु पक्षमा ल्याउन सफल भए।
एमालेका जिल्ला सदस्य तथा विद्यार्थी इञ्चार्ज आकाश अधिकारी र अनेरास्ववियु मकवानपुर अध्यक्ष अमृत बर्तौलाले पनि लामालाई रणनीतिक रूपमा सघाएका थिए। मकवानपुर बहुमुखी क्याम्पसलाई एमाले नेता उत्पादन गर्ने केन्द्रका रूपमा चिनिन्छ।
स्ववियु निर्वाचनका नतिजा
सभापति : प्रसिद्ध रेग्मी (अनेरास्ववियु) – ७०६ मत
छोइसाङ लामा (अखिल क्रान्तिकारी) – ५०७ मत
सचिव : उत्सव ढुंगाना (नेविसंघ) – ७११ मत
दिपेश कार्की (अखिल क्रान्तिकारी) – ५४४ मत
कोषाध्यक्ष : निर्दोष लुइँटेल (अनेरास्ववियु) – ७०४ मत
अमन राय (राप्रविसंघ) – ५४४ मत
सदस्य निर्वाचित : मनोज घलान (७८९ मत)
उमेश चौधरी (७२५ मत)
दिवस चापागाई (७३४ मत)
साजिर अन्सारी (६७३ मत)
कृषन थिङ (६३८ मत)
मन्दिप थापा (६३३ मत)
विवश अर्याल (६१६ मत)
अतित अधिकारी (६२० मत)
मिनेश पुडासैनी (६०४ मत)
अनेरास्ववियुका लागि यो जित २०७९ को हारपछिको पुनरागमनको संकेत हो। कमाण्डर हिदम लामाको नेतृत्वमा अनेरास्ववियुले मकवानपुरमा आफ्नो संगठनलाई थप बलियो बनाएको छ।







