अनेरास्ववियु मकवानपुरले जिल्ला अध्यक्ष अमृत बर्तौलाको नेतृत्वमा स्ववियु निर्वाचनमा प्रभावशाली प्रदर्शन गर्दै विद्यार्थी राजनीतिमा आफ्नो मजबुत उपस्थिति जनाउन सफल भएको छ। प्रमुख क्याम्पसहरूमा भएको निर्वाचनमा अखिलले विभिन्न पदमा जित हासिल गर्दै विद्यार्थी हक, हित र अधिकारका पक्षमा सशक्त प्रतिबद्धता व्यक्त गरेको छ।
मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मीले ७०६ मत ल्याएर अध्यक्ष पद जितेका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका छोइसाङ लामाले ५०७ मत प्राप्त गरे। लामा अघिल्लो कार्यकालका अध्यक्ष थिए, भने रेग्मी कार्यसमितिका सदस्य थिए।
हेटौंडा क्याम्पसमा अनेरास्ववियुका अभी मैनालीले २५१ मतसहित प्यानल जित हात पारेका छन्। बंश गोपाल बहुमुखी क्याम्पसमा दिवस सिलवाल निर्विरोध विजयी भए, भने निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी ५३ मतसहित प्यानल विजयी बने।
विद्यार्थी हक र शिक्षाको गुणस्तरप्रति प्रतिबद्धता
जिल्ला अध्यक्ष अमृत बर्तौलाले यो जितलाई विद्यार्थी आन्दोलनको ठूलो सफलता भन्दै संगठनलाई अझ सशक्त रूपमा अघि बढाउने बताएका छन्। उनले भने, “गुणस्तरीय शिक्षा, उचित शुल्क संरचना, छात्रवृत्ति कार्यक्रम, पूर्वाधार विकास, विद्यार्थी रोजगारी र सीपमूलक शिक्षाको सुनिश्चितताका लागि हाम्रो संगठन निरन्तर संघर्ष गर्नेछ।”
उनले निजी शिक्षालयहरूले विद्यार्थी शोषण गर्ने प्रवृत्तिको विरोध गर्दै सरकारी क्याम्पसहरूमा सुविधाको विस्तार अपरिहार्य रहेको बताए। उनका अनुसार, उच्च शिक्षामा पहुँचलाई सुनिश्चित गर्न सरकारले प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता छ।
स्ववियु नेताहरूले कलेजहरूमा सिट क्षमताअनुसार भर्ना नीति लागू गर्ने, पुस्तकालय तथा प्रयोगशालाको विस्तार गर्ने, कलेज यातायात सेवा सुधार गर्ने तथा खेलकुद र अतिरिक्त क्रियाकलाप प्रवर्द्धन गर्ने विषयलाई मुख्य एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
यस निर्वाचनले मकवानपुरको विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थपेको छ। विद्यार्थी मुद्दामा सशक्त आवाज उठाउँदै संगठनहरूले प्रतिस्पर्धी नतिजा निकालेका छन्, जसले विद्यार्थी सरोकारका विषयलाई अझ मजबुत रूपमा अघि बढाउने संकेत दिएको छ।







