कैलाश गाउँपालिकाले सञ्चालन गरेको ‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमअन्तर्गत ७ जना किसान तथा उद्यमीले अनुदान सम्झौता गरेका छन्। बिहीबार गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा छनोटमा परेका ७ जनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
गाउँपालिकाले व्यवसाय, उद्यमशीलता, कृषि तथा पशुपालन क्षेत्रमा ‘विउपुजी अनुदान’ स्वरूप उक्त कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। “कार्यविधिमा तोकिएकोअनुसार अनुदान प्रदान गर्छौं। दीर्घकालीन रूपमा आर्थिक पक्षलाई बलियो बनाउन यो कार्यक्रम ल्याएका हौं,” उनले भने।
अनुदान सदुपयोग गर्दै व्यवसाय विस्तार गर्नेलाई गाउँपालिकाले सम्मान गर्ने बताउँदै अध्यक्ष मुक्तानले लाभग्राहीहरूलाई सकारात्मक नतिजा आउने गरी काम गर्न आग्रह गरे। उनले कार्यक्रमले व्यवसाय मात्रै नभई विपन्न वर्गलाई उपचार, काजक्रिया लगायतका क्षेत्रमा समेत सहयोग पु¥याउने बताए।
महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाका अनुसार कार्यक्रममा १६ जनाले आवेदन दिएका थिए, तर कार्यविधिको मापदण्डअनुसार ७ जना छनोट गरिएका छन्। छनोटमा परेकामध्ये २ जना मौरीपालन, २ जना टनेलभित्र तरकारी खेती, एक–एक जना किराना व्यवसाय, टेलर्स तथा कुटानी–पिसानी मिल सञ्चालनका लागि सम्झौता गरेका छन्।
गत वर्ष उक्त कार्यक्रममा १७ जनाले सहभागिता जनाएको थियो। सापकोटाका अनुसार, यस वर्ष छनोट भएकाहरूलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ अनुदान प्रदान गरिनेछ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा तथा लाभग्राहीहरूको उपस्थिति थियो। सम्झौता पश्चात् लाभग्राहीहरूले कार्यविधिअनुसार व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।







