हेटौंडा/ नेकपा एमाले मकवानपुरको आयोजनामा तथा सामाजिक संघ संस्था समन्वय संयन्त्रको संयोजनमा लोकतन्त्र, संविधान र उपलब्धि विषयक नागरिक अन्तरसंवाद कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले लोकतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने स्पष्ट पार्दै, संघीय लोकतान्त्रिक गणतन्त्रले ल्याएका उपलब्धिहरू सबै लोकतन्त्रवादी दलहरूले स्वामित्व लिनुपर्ने धारणा राख्नुभयो। साथै, राजतन्त्रको नाममा जनताको मनोविज्ञान विथोल्ने प्रयास रोक्न सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ थियो।
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा राजतन्त्र फर्काउने दिवा सपना नदेख्न चेतावनी दिँदै, संविधानले राजतन्त्रलाई अस्वीकार गरिसकेको र त्यसको पुनरागमन असम्भव रहेको उल्लेख गर्नुभयो। गणतन्त्र स्थापनापछिका उपलब्धिहरू पूर्ण रूपमा उजागर हुन नसक्दा प्रतिगामी सोच बलियो भएको भन्दै सचेत रहन उहाँले आग्रह गर्नुभयो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ लगायत नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो।







