बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईद-उल-फित्रको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
सोमबार जारी शुभकामना सन्देशमा प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गर्दै सामाजिक तथा सांस्कृतिक सद्भावको महत्वलाई उजागर गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “नेपालको भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरूमा पनि बहुआयामिकता पाइन्छ। नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरूबीच उच्चस्तरीय सहिष्णुता कायम छ। नेपालीहरूको चाडपर्वहरू मध्येको ईद पनि एक महत्वपूर्ण पर्व हो।”
उहाँले बागमती प्रदेशका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना दिँदै “ईद मुवारक” भन्नुभएको छ।
प्रदेश प्रमुख देवकोटाले धार्मिक आस्था र परम्पराले एकता, भातृत्व र मेलमिलापको भावना सुदृढ पार्ने उल्लेख गर्दै, सभ्य र समृद्ध समाज निर्माणमा यी पर्वहरूले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
“हामीले हाम्रो धार्मिक सहिष्णुता र धार्मिक सम्पन्नतालाई कायम राख्नुपर्छ। समृद्ध समाज निर्माणमा यस पर्वले थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छासहित पुनः एकपटक सबैलाई ईद-उल-फित्रको शुभकामना व्यक्त गर्दछु।” – उहाँको सन्देशमा उल्लेख छ।







