मकवानपुरको बकैया गाउँपालिका–३ स्थित चिसापानी बजार नजिक धरान–चतरा सडक खण्डमा सोमबार राति करिब ९:३० बजे एक यात्रुबाहक बस दुर्घटना भएको छ।
सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमणमा रहेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको रिजर्भ बस सडकको घुम्तिमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हातिसुडेबाट प्रहरी निरीक्षक जनकबहादुर तामाङको नेतृत्वमा र फापरबारीबाट प्रहरी निरीक्षक रामशरण दुलालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले घाइतेहरूको उद्दार गरी हेटौंडा अस्पतालतर्फ पठाएको छ।
दुर्घटनामा परी कति जना यात्रु घाइते भए भन्ने विस्तृत विवरण आउन बाँकी भए पनि घटनास्थलको प्रारम्भिक अवस्थाले २–३ जना गम्भीर घाइते रहेको संकेत गरेको छ। बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। हाल घाइतेहरूको विवरण संकलनको काम भइरहेको प्रहरीले बताएको छ।







