मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठमा निर्माण गरिएको जिपलाइन हालै सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको लगानीमा बनेको यो जिपलाइन १,२०० मिटर लामो छ, जसले कैलाशका दुई डाँडालाई आपसमा जोड्दछ।

८४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको यो जिपलाइनको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले गर्नुभयो। उद्घाटन कार्यक्रममा अध्यक्ष मोक्तानले जिपलाइन सञ्चालनसँगै साहसिक पर्यटनको क्षेत्रमा नयाँ अध्याय सुरु भएको बताउनुभयो।
साथै, आगामी दिनमा होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण र जनशक्ति तयार पार्ने कार्य पनि तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो।

उपाध्यक्ष बालकुमार मल्लले भने जिपलाइन सञ्चालनले गाउँपालिकाको आम्दानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
पर्यटन प्रवर्द्धनको उद्देश्यले बैकुण्ठ क्षेत्रमा डाँफे मुनाल पार्क, डम्फूपार्क, विष्णुकुण्ड निर्माण गरिएको छ भने सतीघाट क्षेत्रको पनि संरक्षण गरिएको गाउँपालिकाले जनाएको छ। जिपलाइनसँग सम्बन्धित टिकट घर, सुरक्षाकर्मी र कर्मचारी व्यवस्थापनका कामहरू चाँडै पूरा गरिने बताइएको छ।







